शुक्रवार, आश्विन २३ गते २०८३

सुदूरपश्चिम प्रदेशसभाः रेशम चौरधीको रिहाई नभए बैठक चल्न नदिने चेतावनी

सोमवार , पौष १८, २०७९

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ ।

सोमबारबाट सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले थारुहरुको ठूलो पर्व माघीसम्म चौधरीको रिहाइ मुख्य शर्त रहेको र रेशमको रिहाइ नभए प्रदेशसभाको बैठकमा अवरोध गर्ने चेतावनी दिएका हुन्।

चौधरीले टीकापुर घटना अपराधिक नभएर राजनीतिक घटना भएका कारण सोही रुपमा राज्यले निकास खोज्नुपर्ने उल्लेख गरे। चौधरीले आफूहरु जनताबाट ५ वर्षका लागि अनुमोदित भएर आएको बताउँदै चुनौती र अवसर दुवै रहेको पनि बताए। 

संघीय सरकारमा बाहिर बसेर समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ लगायतका माग राख्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा निर्णायक देखिएको यो पार्टीले मुख्यमन्त्रीमा समेत दाबी गरेको छ । तर एमाले नेतृत्वको गठबन्धनमा भागबण्डा हुन बाँकी रहेको छ ।

यस्तै सुदूरपश्मिम प्रदेशसभामा सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन्।

उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशनसमेत दिए। प्रदेशसभाको अर्को बैठक पुस २८ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार