काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निणर्य गरेको छ । आज सकिएको राजनीतिक समितिको बैठकमा सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो ।
बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डा समावेश भए सरकारमा सहभागी हुने निणर्य भएको हो । नभए पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने पार्टीको निणर्य छ ।
बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ ।
चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ ।
विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए।