काठमाडौं। सत्ता साझेदार दलहरुको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक बुधबार बस्दैछ । कार्यदलले कार्यक्रमको खाका सार्वजनिक गर्ने तयारी स्वरुप आजको लागि बैठक बोलाएको कार्यदल सदस्य डाक्टर मुकुल ढकालले जानकारी दिए।
एमालेका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएको दाबी गरेको छ ।
समितिमा माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डाक्टर धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर मुकुल ढकाल सदस्य रहेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने गरि तयारी भइरहेको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन्। अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या, रोजगारी सिर्जना, पूर्वाधार विकास लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याइने तयारी भएको बताइएको छ ।
फरक विचारधारा बोकेका सात राजनीतिक दलको सरकार भएकोले सरकार सञ्चालनमा कुनै व्यवधान नहोस् र सबै दलले अपनत्व लिन सकुन भनेर न्यूनतम साझा कार्यक्रम बनाउन लागिएको हो ।