काठमाडौं। वाग्मती प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरुलाई आहृवान गरेका छन्। बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ ।
प्रदेशमा हालसम्म कुन पार्टीले नेतृत्व गर्ने टुंगो लागेको छैन । हालसम्मको अंकगणिती हेर्दा राप्रपाको सम्भावना बलियो देखिएको छ ।
केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन् । अर्कोतर्फ राप्रपा र एकीकृत समाजवादीसँग तालमेल गरे कांग्रेस सम्मिलित सरकार बन्ने सम्भावना छ । कांग्रेसलाई सरकार बनाउन १९ सांसदको समर्थन भए पुग्छ ।
कांग्रेस सम्मिलित सरकार निर्माण गर्न राप्रपाका १३, एकीकृत समाजवादीका ७ जना सांसदले साथ दिए केन्द्रीय समीकरणविपरीत वाग्मतीमा सरकार बन्ने देखिएको छ ।
राप्रपा फकाउदै कांग्रेस र समाजवादी
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई फकाएर नयाँ समीकरणमा सरकार बनाउने प्रयास गरेको छ ।
केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको नेतृत्वमा गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरुको समीकरण फेरिएको छ । यसअघि कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको थियो। तर, अहिले संघमा नयाँ समीकरण बनेसँगै बागमती प्रदेश सरकार गठनका लागि तयारी गरिरहेको कांग्रेस र समाजवादी सत्ताको खेलबाट आउट भएका छ्न ।
केन्द्रमा बनेको नयाँ समीकरणअनुसार प्रदेशमा पनि नेकपा एमाले,माओवादी र राप्रपाको संयुक्त सरकार बन्ने स्थिति देखिएको छ । तर,केन्द्रसँगै ७ वटै प्रदेशमा सत्ता गुमाएको कांग्रेस र समाजवादीले राप्रपालाई फकाएर बागमती प्रदेशमा सरकार गठनको लागि पहल गरिरहेको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा कुनैपनि दलको एकल बहुमत छैन।
त्यसैले प्रदेशमा सरकार गठनको लागि दलहरुबीच समीकरण गर्नु बाध्यता छ। यसअघि एउटै गठबन्धनमा रहेर सरकार बनाएको कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन फुटिसकेको छ । केन्द्रमा बनेको तालमेलअनुसार प्रदेशमा सरकार गठनको लागि एमाले,माओवादी र राप्रपासँग पर्याप्त मत छ ।
बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग ३७ र समाजवादीसँग ७ सांसद छन् । १३ सिट रहेको राप्रपाको समर्थन पाउदा बागमती प्रदेशमा नयाँ समीकरणअनुसार सहजै सरकार बन्न सक्ने स्थिती छ ।
तर राप्रपाले समर्थन गर्दा सरकार गठनको लागि आवश्यक मत पुग्ने हुँदा कांग्रेस र समाजवादीले राप्रपालाई मुख्यमन्त्री दिनेगरी सरकार गठनको लागि नयाँ समीकरण बनाउन लविङ गरिरहेको बताइएको छ ।