काठमाडौँ । नेकपा (एमाले) ले स्थायी कमिटीको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बस्दै छ ।
सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुले तत्काल पार्टी कमिटी र संसदीय दलको बैठक रोकेर अनौपचारिक छलफल अगाडि बढाउन संस्थापन पक्षलाई सुझाव दिएका थिए ।
तर, उनीहरुको सुझावलाई बेवास्ता गर्दै ओलीसँगको परामर्शमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् । एमालेले शुक्रबार नै ३ बजे दलको बैठक पनि बोलाएको छ ।