काठमाडौं। सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चित बनेको छ । हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि शुक्रबा बिहान ११ बजे पुनः मतदान गर्ने समय तोकिएको थियो ।
तर बिहान बसेको सर्वदलीय बैठकमा पुनः मतदानको विषयमा सहमति हुन नसकेपछि प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि बैठक स्थगित गरिएको जनाएको छ ।
सचिवालयका सूचना अधिकारी युवराज जैशीले सर्वदलीय बैठकमा सहमति नभएपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिए। उनका अनुसार सर्वदलीय बैठकमा सभामुखको पुनः निर्वाचन र संवैधानिक अड्चनका विषयमा कानूनी परामर्श गर्ने मौखिक समझदारी बनेको छ ।
संविधानअनुसार प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने हुन्छ । सुदूरपश्चिममा प्रदेशसभा सदस्यहरूले पुस १५ मा पद तथा गोपनियताको सपथ लिएका थिए । उक्त समयअनुसार पुस ३० मा सभामुख चयन गरिसक्नुपर्ने हुन्छ ।
त्यहाँ सभामुखमा सत्तारूढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र कांग्रेस गठबन्धनबाट मानबहादुर रावलले उम्मेदवारी दिएका थिए । तर, मतदानमा कुनै पनि उम्मेदवारले बहुमतका आवश्यक पर्ने मत ल्याउन सकेका थिएनन् ।