काठमाडौं। बाग्मती प्रदेशमा १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा मन्त्रालयमा कायम गरिने भएको छ । निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले १४ वटा मन्त्रालय बनाए पनि त्यसअनुसार काम नभएकाले ११ वटा मन्त्रालय कायम गर्न लागिएको हो ।
अब छिट्टै तीन वटा मन्त्रालयलाई गाभेर ११ वटा कायम गरिने प्रदेशका मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले बताए। मन्त्रालयको सङ्ख्या घटाएर राज्यमन्त्री समेत नराखिने उनको भनाई छ ।
पहिलेको सरकारले १४ वटा मन्त्रालयमा मन्त्री र राज्यमन्त्री समेत गरेर १८ जना मन्त्री रहेका थिए । बजेट कम र काम पनि कम भएको सहकारी मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय गाभिन सक्ने जम्मकट्टेलले बताए।
यस्तै मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत पाएपछि मात्रै मन्त्रीपरिषद् बिस्तारको तयारी गरेका छन्। प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आउँदो माघ ३ गते विश्वासको मत लिने तयारी गरेका हुन्। उनले विश्वासको मतका लागि तयारी गर्न प्रदेश सभा सचिवालयलाई आग्रह समेत गरिसकेका छन् ।
मुख्यमन्त्रीले शपथ लिएकै दिनमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियालाई अर्थ तथा राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई विनाविभागीय मन्त्री बनाएपछि यस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छैन ।
अरु सबै मन्त्रालय मुख्यमन्त्री जम्मकट्टेलले आफूसँगै राखेका छन्। कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय प्राप्त गर्ने भन्ने कुरामा छलफल गर्न बाँकी रहेको उनले बताए।