काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको सभामुखका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।
आज सभामुखको उम्मेदवारी दर्ता हुनेछ । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यतालिका अनुसार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनसँगै माघ ७ गते उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ ।
आज दिउँसो सवा ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू भोलि बिहान बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुनेछन् ।
प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन् । एक मात्र प्रस्ताव परेको अवस्थामा सभामुख चयन निर्विरोध हुनेछ ।
मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।