सोमवार, श्रावण २५ गते २०८३

बालुवाटारमा भनाभनः ओलीसंग माधव नेपाल र रमेश लेखकको चल्यो सवाल जवाफ

बुधवार , माघ ४, २०७९

मंगलबार प्रधान्मन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाइ विश्वासकाे मत दिने दलहरुकाे बैठक बाेलाए। साे बैठकमा सभामुख सहित राष्ट्रपति लगायत संवैधानिक पदहरुका बिषयमा छलफल गर्ने भनिएकाे थियाे। 

त्यसक्रममा सामान्य छलफल मात्रै चलेन। केही नेताहरुबीच त सवालजवाफ र भनाभनकाे अवस्था नै सृजना भयाे । 

व्यक्तिगत तहमा एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीचको सम्बन्ध ठिक छैन । 

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मेलमिलाप गरेर ओलीले प्रधानमन्त्री नै बनाइसकेपनि विगत एमालेमा एउटै मूहमा बसेका दुई नेता ओली र नेपाल मिल्न सकेका छैनन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित सर्वदलीय बैठकमा पनि त्यसैको प्रतिविम्ब देखियो ।

प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक थाल्दै आफूलाई विश्वासको मत दिएकामा सबै दललाई धन्यवाद दिए । आइन्दा पनि सहमतिबाटै अघि बढ्न आवश्यक रहेको भन्दै उनले कित्ताबन्दी नगर्न दलका नेताहरुलाई अनुरोध गरे । प्रचण्डले भने, ‘म एउटा गठबन्धनबाट प्रधानमन्त्री बनें, तर बाँकी पार्टीहरुप्रति पनि मेरो कहीँ न कहीँ दायित्व छ । आउनुहोस्, सहमतिबाटै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत पदमा साझा दृष्टिकोण बनाऔं ।’

प्रचण्डले यो पनि भन्न छुटाएनन्, ‘एमालेसँग छलफल अघि बढिसकेको छ । त्यस अनुसार ती पदहरुमा उम्मेदवार आउनेछन् । तपाईंहरुले पनि त्यसै बमोजिम सदाशय राखिदिनुभयो भने अघि बढ्न सजिलो हुने थियो ।’

एमाले अध्यक्ष केपी ओलीले प्रचण्डको भनाइलाई अझै छोटो र सिधा सारांश खिचिदिए, ‘राष्ट्रपति को, सभामुख को भन्नेमा हामीले छलफल गरिसक्यौं । अब त्यसैमा कांग्रेस लगायत पार्टीहरु सहमत भए भने त सहमति भैगो नि ?’

ओलीले यसो भन्दैगर्दा बालुवाटारमा असन्तुष्टिको कानेखुसी दौडिएको थियो ।

आफ्नो पालोमा एकीकृत समाजवादी अध्यक्ष नेपाल ओलीतिर हेर्दै कड्किए, ‘तपाईंले जसो–जसो भन्नुहुन्छ, त्यसै–त्यसै मान्दै जाने हो भने त्यही हो सहमति ? हाम्रो काम चाहिँ तपार्इंले भनेको मान्दै जाने हो ?’

तर पछि आफ्नो बोल्ने पालोमा ओलीले नेपालको जिज्ञासा सम्बोधन गरेनन् । बरु कतिपयको पालो नआउँदै उनी उठेर गइसकेका थिए ।

त्याे क्रम त्यही राेकिएन। 

बैठकमा नेकपा एमालेकाअध्यक्ष केपी ओली र कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच भनाभन भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा अध्यक्ष ओली र रमेश लेखकबीच चर्काचर्की भएको हो ।

उक्त बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेसले सत्ता गठबन्धनभित्र चलखेल गर्न खोजेको आरोप लागाए । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुको पछाडी केही के केही स्वार्थ रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिइसकेपछि कांग्रेसले आफूलाई प्रतिपक्ष भन्न नपाउने बताएका थिए ।

‘ तलदेखि माथिसम्म सत्ता गठबन्धनमा कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । तर सबैतिर विश्वासको मत दिइरहनु भएको छ । सत्ताको लागि नखेल्नुहोस् । तपाईँहरू त प्रतिपक्ष पनि बन्न सक्नुभएन ।’, बैठकमा ओलीले भनेका थिए ।

त्यसपछि कांग्रेस नेता लेखकले अध्यक्ष ओलीलाई जवाफ फर्काए । उनले नेपाली कांग्रेस प्रतिपक्षी दल भएको स्पष्ट पारे । उनले नेपाली कांग्रेसले हालको सत्ता गठबन्धनभित्र कुनै पनि चलखेल नगरेको बताए । ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्ष नै हौँ । हामीले कुनै चलखेल गरेका छैनौँ ।’, उनले भने । त्यसपछि अध्यक्ष ओली बैठकबाट बाहिरिएका थिए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) सहित सरकारलाई विश्वासको मत दिने दलका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार