शुक्रवार, आश्विन २३ गते २०८३

प्रतिनिधिसभाको सभामुखमा दुई गठबन्धनको भिडन्त, कस्तो छ अंकगणित? 

बुधवार , माघ ४, २०७९

काठमाडौं। प्रतिनिधिसभाको सभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । बुधबार संघिय संसद सचिवालयमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराए।

एमालेका घिमिरेको प्रस्तावकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थनमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देन रहेका छन्।

सत्ता गठबन्धनमा एमालेसहित नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उम्मुक्ति पार्टी रहेका छन् । 

मनोनयन दर्ता गरेपछि घिमिरेले आफू सभामुख निर्वाचित भइसकेपछि संसदलाई सहमतिको आधारमा अगाडि बढाउने बताए।

सत्ता गठबन्धनको तर्फबाट सभामुखको उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विगतको शिक्षालाई लिएर राजनीतिक पार्टीहरुसँग छलफल गरेर सहमतिको आधारमा प्रक्रियालाई अगाडि बढाउने र आरोप प्रत्यारोप पूर्वाग्रह भन्दापनि यथार्थको आधारमा ठीक ढंगले अघि बढ्ने दृढता व्यक्त गरे।

उनले आफनो जित सुनिश्चित भएको जिकिर गरे। उनले विगतबाट शिक्षा लिँदै संसदमा प्रभावकारी ढंगबाट अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे। 

यस्तै नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दर्ता गरेकि छिन्। बुधबार  बानेश्वरस्थित संसद भवन पुगेर समानुपातिक सांसद् न्यौपानेले उम्मेदवारी दर्ता गराएकी हुन्। प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक प्रकाश ज्वाला रहेका छन् ।  

कांग्रेस पदाधिकारी बैठकले न्यौपानेलाई सभामुख उम्मेदवार बनाउने निणर्य गरेको थियो ।

मनोनयन दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्दै न्यौपानेले लोकतन्त्रमा हार र जित स्वभाविक भएको बताउदै आफू विजयको नजिक भएकै मनशाय बोकेर उम्मेदवारी दर्ता गराएको बताईन्।

कस्तो छ अंकगणित? 

दुवैले जित्ने दाबी गरे पनि २७५ जना सांसद रहेको संसदमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरे नै अगाडि छन् । घिमिरेको पक्षमा एमालेको ७९, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४ मत छ ।

उनलाई जीत सुनिश्चित गर्न १३८ मत आवश्यक पर्छ । तर, एमाले, माओवादी, रास्वपा र राप्रपाको जोड्दा नै १४४ मत हुन्छ ।

यस्तै विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थन छ । कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको ४ सीट छ । कांग्रेसका एक सांसद निलम्बित छन् । तीन दलका १०२ सांसदमात्रै हुन्छन् ।

तर, मन्त्रिपरिषद् विस्तारमा भागबन्डामा असन्तुष्टि जनाएर सत्ता बाहिर बसेको जसपाले कसलाई समर्थन गर्छ भन्ने टुंगो छैन । देउवासँग १२ सीट रहेको जसपा अध्यक्ष उपेन्द्र यादव निरन्तर संवादमा रहेकाले विपक्षी गठबन्धनको ११४ सांसद हुनसक्छ ।

यीबाहेक ६ सीट भएको जनमत पार्टी, ४ सीट भएको नागरिक उम्मुक्ति पार्टीले पनि सरकारलाई समर्थन गरेका छन् । उनीहरुले घिमिरेलाई नै मत दिनसक्छ । तर, नागरिक उन्मुक्ति आफ्नो एजेण्डालाई सर्त राखेर सरकारमा गएको छैन।

प्रधानमन्त्री नियुक्त हुने वेलामा प्रचण्डलाई १६९ सांसदले समर्थन गरेका थिए । तर, अहिले साना दलको असन्तुष्टिको कारणले त्यही मत कायम नहुन सक्ने आँकलन गरिएको छ ।

यसबाहेक स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंहलगायतले पनि घिमिरेलाई सहयोग गर्नसक्छन् । १-१ जना सांसद रहेको राष्ट्रिय जनमोर्चा र नेमकिपा अहिलेसम्म कतै खुलेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार