काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म निर्णय नगर्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
उनले भने, ‘अदालतबाट पूर्णपाठ आउन बाँकी छ । त्यसको फैसला नआएसम्म निर्णय हुँदैन । अहिले प्रधानमन्त्रीजी आफैंले राख्नुभएको छ । कसलाई बनाउने भन्ने त्यहीबेला थाहा हुन्छ ।’
रास्वपाले गृहमन्त्रालय आफ्नै भागमा हुनुपर्ने माग राख्दै आएको छ । तर, प्रचण्ड यो मन्त्रालय आफैँसँग राख्ने मनस्थितिमा छन् ।
आज बिहानमात्र रविले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय लिँदा स्वार्थ बाझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै लामिछानेलाई अर्को मन्त्रालय लिन आग्रह गरेका छन् ।
लामिछानेले साँझसम्म यसअघि सरकार बनाउने बेला भएको समझदारीअनुसार गृहमन्त्रालय रास्वपालाई दिन र शपथग्रहण गराउन भनेपछि प्रधानमन्त्रीले त्यसमा आनाकानी गरेका थिए ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार रविलाई गृह मन्त्रालय नदिन माओवादीभित्र दबाब छ । सरकारको नेतृत्व गरिरहेको पार्टीले महत्त्वपूर्ण मन्त्रालय नलिएको भन्दै प्रचण्डमाथि माओवादीभित्रबाटै गृह नछाड्न दबाब बढेको छ ।