बिहिवार, आश्विन २२ गते २०८३

सुदूरपश्चिम प्रदेशसभा बैठक फेरी सर्‍यो

बिहिवार , माघ २६, २०७९

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ घण्टा पर धकेलिएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावालले प्रदेश सभामा विश्वासको मत लिन आज दिउसो १ बजे बोलाईएको बैठक साँझ ४ बजेका लागि सारिएको हो ।

मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिनपनि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति जुट्न नसकेपछि बैठक सारिएको बुझिएको छ । मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नसक्ने अवस्था आएपछि हिजो पनि बस्दै नबसी दुईपटक प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

विश्वासको मतको लागि निर्णायक नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद केही दिनअघिदेखि काठमाडौंमा वार्ता र छलफल गरिरहेका छन् । हिजो  एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका उनीहरूले आज बिहान पनि छलफल गरेका थिए ।

सदुरपश्चिम प्रदेशमा सत्तागठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरीलगायत टीकापुर घटनामा जोडिएकाहरूलाई रिहाइ गर्नुपर्नेलगायत माग राख्दै आएको छ । माग पूरा नभएसम्म विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीको अडानले सरकार संकटमा परेको छ ।

मुख्यमन्त्री हुँदा रावललाई माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन थियो ।

प्रतिपक्षमा भने नेपाली कांग्रेसका १९,नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन् । गत पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक समयसिमा आज सकिँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार