बिहिवार, आश्विन २२ गते २०८३

राष्ट्रपति निर्वाचनः प्रचण्ड-ओलीबीच सहमतिको प्रयास असफल, दुवैले छाडेनन् अडान

बिहिवार , फाल्गुण ४, २०७९

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै अडान दोहोर्‍याएपछि राष्ट्रपतिको उम्मेदवारबारे सहमति गर्ने प्रयास असफल भएको छ । बिहीबार बिहान १० बजेदेखि १२ बजेसम्म प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको थियो । तर, राष्ट्रपतिमा संसदका सबै दलहरुबीच साझा व्यक्ति अघि सारेर जानुपर्ने अडान प्रचण्डले दोहोर्‍याएपछि सहमति जुट्न नसकेको एक नेताले बताएका छन् ।

यद्यपि चुनावका लागि उम्मेदवार मनोनयन दर्ता गर्ने समय अझै एक साता  बाँकी रहेकाले सहमति जुटाउने प्रयास भने जारी छ । शुक्रबार फेरि बसेर यसबारे छलफल गर्ने गरी एमाले अध्यक्ष ओली उठेर बालकोटतिर लागेका थिए।

राष्ट्रपतिमा आफूहरुले जोसुकै उठाए पनि सहमति गर्नुपर्ने एमालेको अडान छ । तर, पछिल्लो राजनीतिक परिस्थितिले कम्तीमा मुख्य दलहरुलाई मान्य हुने पात्र अघि सार्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव छ ।

एमालेले आफूले अघि सारेको व्यक्तिमा राष्ट्रिय सहमति कायम गराउनुपर्ने बताउँदै आएको छ । बिहीबारको भेटमा पनि अध्यक्ष ओलीले सहमति कार्यान्वयनबाट पछि नहट्न आग्रह गर्नुभएको थियो । फागुन २५ को राष्ट्रपति चुनावको लागि फागुन १३ मा मनोनयन कार्यतालिका छ । 

राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयास गरेको छ । गत निर्वाचनमा मोर्चाबन्दी गरेर एमालेविरुद्ध निर्वाचनलडेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा पुनः माओवादी केन्द्रलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेको हो ।

पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ । बिहीबार बिहान पनि कांग्रेस उपसभापति पूणर्बहादुर खड्काले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमै पुगेर छलफल गरेका थिए। सो क्रममा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले समेत कांग्रेसले दिने उमेदवारप्रति लचक हुने संकेत देखाएको छ । यसअघि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायतका नेताहरुले विभिन्न चरणमा छलफल गरिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार