सोमवार, श्रावण २५ गते २०८३
नयाँ राष्ट्रपतिको राजनीतिक यात्रा 

रामचन्द्र पौडेलः प्रधानमन्त्रीमा १७ पटकको हार, राष्ट्रपतिमा पहिलो प्रयासमै सफलता

बिहिवार , फाल्गुण २५, २०७९

काठमाडौं । नेपालले बिहीबार तेस्रो राष्ट्रपतिको रुपमा कांग्रेसका रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । 

३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् ।  कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए । 

एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनलाई संघीय संसदका ९६ जना सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिएका हुन् ।

 पौडेलको राजनीतिक यात्रा 

तनहुँको ब्यासमा २९ असोज २००१ मा उनको जन्म भएको थियो । कांग्रेस पार्टीबाट ६ दशक राजनीतिमा सक्रिय रहेका पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

एकपटक सभामुख, ५ पटक मन्त्री र ६ पटक सांसद रहेका उनी प्रधानमन्त्रीमा लगाता १७ पटकसम्म संसदमा एमाले उम्मेदवार झलनाथ खनालसँग पराजित भएका थिए । तर, बिहीबार १० दलको समर्थनमा उनी देशकै प्रमुख पदमा पुगेका छन् । 

२०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका उनी २०३४ सालमा तनहुँबाट जिल्ला सदस्य भएर कांग्रेसबाट सक्रिय राजनीतिमा होमिए । यसअघि उनी २०२७ सालमा नेविसंघको संस्थापक सदस्य रहेका हुन् । 

तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा संसद् भङ्ग गरेपछि भएको आन्दोलनमा उनी सहभागी भएका पौडेल तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालाई पक्राउ गरेकोमा विरोधमा उत्रिएका नेता हुन् ।  

२०४३ सालमा कांग्रेसको केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख भएका पौडेल त्यसपछि निरन्तर कांग्रेसको केन्द्रीय राजनीतिमा छन् । २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापतिसमेत सम्हालिसकेको अनुभव पौडेलसँग छ ।

यस्तै, २०७४ सालबाहेक २०४८ सालदेखि हालसम्म सातपटक सांसद भएका उनी २०५१ सालमा प्रतिनिधिसभाका सभामुखको जिम्मेवारी सम्हाले । २०६५ मा कांग्रेस संसदीय दलको नेता बनेका पौडेलले संसदमा विपक्षी दलको नेताको रुपमा आफ्नो जिम्मेवारी पूरा गरे । 

पहिलोपटक २०४८ सालमा स्थानीय विकास मन्त्री बनेका पौडेल त्यसपछि २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचना÷सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री र  २०६३ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री बने ।

प्रजातन्त्र र लोकतन्त्रका लागि भएका आन्दोलनमा सहभागी हुँदा पौडेल पटकपटक गिरफ्तार मात्र भएनन् १५ वर्ष जेल जीवनसमेत बिताए । उनै पौडेललाई आगामी पाँच वर्षका लागि देशले राष्ट्रपतिको रुपमा पाएको छ । 

प्रधानमन्त्रीमा १७ पटकको पराजय

पञ्चायत विरोधी राजनीतिदेखि गणतन्त्रसम्म आइपुग्दा निरन्तर क्रियाशील र संसदीय चुनावमा जीत हात पार्दै आउनु भएका पौडेललाई २०६७ सालमा भएको प्रधानमन्त्री चुनावलाई लिएर उडाउने पनि गरिन्छ । सत्र पटक हारेका प्रधानमन्त्री, हुन नसकेका प्रधानमन्त्री अनि कोहीले अलि धेरै पटक पराजय भोग्यो भने रामचन्द्रको चुनाव जस्तो पनि भन्ने गरिन्छ । तर, यसमा उनी आफू स्वयंको भूमिकभन्दा तत्कालीन संवैधानिक व्यवस्था जिम्मेवार मानिन्छ ।

२०६७ साउनदेखि सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।

आठौँ प्रतिस्पर्धापछि भने प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैँ बाहिर भए। त्यसपछि पौडेल र खनालबीच १७ पटक प्रधानमन्त्रीका लागि चुनावी प्रतिस्पर्धा भयो ।

यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो । र, अर्को चरणमा प्रचण्डको सहयोगमा खनाल प्रधानमन्त्री भए भने रामचन्द्र पौडेलको १७ पटकको प्रयत्न त्यसै खेर गयो जुन अहिले पनि उहाँको जीवनको एउटा नमिठो घटनाकारुपमा लिने गरिन्छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार