काठमाडौं। तिब्बती शरणार्थीहरुलाई नेपाली नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति ३ देखि ५ लाख लिएर नेपाली नागरिकता बनाइदिने गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बवरमहलबाट आईतबार पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, काठमाडौं बबरमहलका न्युल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् । पक्राउ परेकामध्ये कटवाल १० वर्षदेखि लेखापढी व्यवसायमा संलग्न व्यक्ति हुन् ।
लोब्साङ थिन्ले तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका र उनले गत फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ थिन्ले गुरुङको नामबाट स्थायी ठेगाना का.म.न.पा. १७ राखी ना.प्र.प.नं. २७-०१-७९-१५९०१ को नेपाली नागरिकता लिएको देखिएको छ ।
यस्तैगरी नागरिकता लिएका अन्य २५-३० जनाको सक्कलै नागरिकता प्राप्त भई सोउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महाशाखाका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार अहिलेसम्म यो टोलीले १० जना तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिएको खुलेपनि ५ सयको नागरिकता बनाएको आशंका छ ।
उनीहरूले नेपाली व्यक्तिलाई १० हजार रुपैयाँ दिएर नक्कली बाबुआमा बन्न प्रलोभन दिएर नागरिकता बनाउने गरेको पनि खुलासा भएको छ । पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धाका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।