सोमवार, कार्तिक ३ गते २०८३

फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक : लुटपाट र आगजनीका घटनामा २४ सय पक्राउ

सोमवार , कार्तिक ३, २०८३

काठमाडौं । बढ्दो महँगीविरुद्ध फ्रान्सभर आयोजित प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनका क्रममा भएका झडप, लुटपाट र आगजनीका घटनामा संलग्न रहेको आरोपमा करिब २ हजार ४०० जना पक्राउ परेका छन् ।

शनिबार भएका प्रदर्शनका क्रममा फैलिएको हिंसाले फ्रान्समा बढ्दो जीवनयापन खर्चप्रतिको जनआक्रोश र सरकारले अघि सारेको सार्वजनिक खर्च कटौतीको नीतिविरुद्धको असन्तुष्टिलाई उजागर गरेको छ ।

सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा यस घटनाले देशको राजनीतिक तनावसमेत बढाएको छ ।

शनिबार फ्रान्सका कैयौँ सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुनुका साथै आगजनी र लुटपाटका घटना भएका थिए । फ्रान्सको गृह मन्त्रालयका अनुसार, झडपका क्रममा करिब एक हजार सुरक्षाकर्मी घाइते भएका छन् ।

पेरिस प्रहरीले राजधानीमा मात्रै ८५५ जनालाई पक्राउ गरिएको जनाएको छ । यो राजधानीमा अहिलेसम्मकै उच्च पक्राउ संख्या भएको बताइएको छ ।

अभियोजन पक्षका अनुसार, पक्राउ परेकामध्ये १७१ नाबालिगसहित ५१७ जना हिरासतमा रहेका थिए । आइतबार बिहानसम्म पनि पक्राउ गर्ने क्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने बताइएको थियो ।

राजधानीमा भएका अधिकांश पक्राउ चोरीका सामान लुकाएको वा राखेको आशंका, हिंसात्मक गतिविधिका लागि संगठित समूहमा सहभागी भएको तथा तोडफोड र उपद्रव मच्चाएको आरोपसँग सम्बन्धित छन् ।

मध्य फ्रान्सको लिमोज सहरमा उपद्रवीहरूले ऐतिहासिक नगर भवनमा आगजनी गर्दा भवनको ठूलो हिस्सा जलेर नष्ट भएको छ । नगर प्रमुख गुइलेम गुरिनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै फ्रान्सेली सञ्चारमाध्यम एलसीआईसँग भने, “यस घटनाको निन्दा गर्न शब्द नै छैन । यो निकै भयानक छ । देश अहिले अराजकताको स्थितिमा पुगेको छ ।”

यसैबीच, मार्से, लियोन, आभिग्नोन र ग्रेनोबल सहरमा पनि सार्वजनिक भवन तथा पसलहरूमाथि आक्रमण भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले विभिन्न सहरमा अश्रुग्यास, लाठीचार्ज र पानीको फोहरा प्रयोग गरेको थियो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू पनि घाइते भएका छन् । सेन्ट–एटिएनमा प्रहरीले प्रहार गरेको अश्रुग्यास वा ग्रेनेडका कारण १७ वर्षीय एक युवकले हात गुमाउनुपरेको फ्रान्सेली समाचारपत्रले फिगारोले जनाएको छ ।

हिंसात्मक घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति इमानुएल म्याक्रोनले हिंसालाई कुनै पनि आधारमा जायज ठहर गर्न नसकिने बताएका छन् ।
सम्बोधनका क्रममा उनले भने, “आज राति हामीले आक्रोश र लज्जाको महसुस गरेका छौँ ।” 

उनले न्यायोचित माग राख्दै शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिक र तोडफोड, क्षति तथा लुटपाटमा संलग्न हुनेहरूबीच स्पष्ट भिन्नता छुट्याउनुपर्नेमा जोड दिए ।
प्रदर्शनका क्रममा प्रहरीले गरेको कारबाहीबारे पूर्ण पारदर्शिता अपनाउने प्रतिबद्धतासमेत राष्ट्रपति म्याक्रोनले व्यक्त गरे ।

सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा म्याक्रोनको उत्तराधिकारी बन्न चाहने विपक्षी नेताहरूले पनि हिंसात्मक घटनाको आलोचना गरेका छन् ।

दक्षिणपन्थी नेतृ मरिन ल पेनले आफ्ना अति–वामपन्थी प्रतिद्वन्द्वी ज्याक–लुक मेलेन्चोनको दलमाथि हिंसालाई वैधानिकता दिएको आरोप लगाएको छ । उनले फ्रान्सेली जनतालाई अति–वामपन्थीहरूको हिंसाबाट सुरक्षित राख्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार