बिहिवार, आश्विन २२ गते २०८३

मेस्सीको सन्न्यास : एक स्वर्णिम फुटबल युगको अन्त्य

बिहिवार , आश्विन २२, २०८३

काठमाडौँ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बेनिनविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाट आफ्नो बुट थन्क्याएका छन्। 

विश्व फुटबलकै सबैभन्दा महान् खेलाडी बनेका मेस्सीको सन्न्याससँगै एक स्वर्णिम फुटबल युगको अन्त्य भएको छ।

बुधबार बिहान बेनिनविरुद्धको खेलपछि अहिले सामाजिक सञ्जाल मेस्सीको विदाइका तस्बिरले भरिएका छन्। विश्वभरका समर्थकहरुले मेस्सीको प्रशंसामा शब्द समर्पण गरिरहेका छन्। 

राष्ट्रिय टोलीको जर्सीमा अन्तिम पटक उभिएका मेस्सी खेलअघि राष्ट्रिय गानको समयमा निकै भावुक बने। खेलको १० मिनेटको समयमा रेफ्रीले खेल जानी जानी १ मिनेट नै रोके। खेल रोकिएपछि दर्शकहरुले उठेर मेस्सीको नाम लिइरहेका थिए। 

खेल सकिएपछि मेस्सीले माइक हातमा लिँदै सम्बोधन गरे।त्यो क्षणमा उनले आफ्नो बुबालाई सम्झिए। 

‘आज बोल्न निकै गाह्रो भइरहेको छ, यो मेरो करियरको निकै दुःखद दिन हो, अर्जेन्टिनाको जर्सी लगाएर देशका लागि खेल्न पाउनु मेरो जीवनकै सबैभन्दा गौरवको कुरा हो।’ 

यसबीचमा समर्थकलाई प्रशंसा र कृतज्ञता दिन मेस्सीले छुटाएनन्।कोपा अमेरिका होस् वा विश्वकप। हरेक ठाउँमा खेल हुँदा पुग्नुहुन्छ, जहाँ सधैँ घरमा नै भएको महसुस हुन्छ।’ 

मेस्सीले आफू राष्ट्रिय टोलीको जर्सीलाई सधैँ सम्झिरहने र दर्शक बनेर खेलाडी र आउने पुस्तालाई सधैँ समर्थन गरिरहने बताए। 

मेस्सीले यसो भनिरहँदा उनका सहकर्मी खेलाडी र प्रशिक्षकसँगै स्टेडियममा रहेका हजारौँ समर्थक र प्रत्यक्ष प्रसारण हेरिरहेका दर्शकका आँखा आँशुले भरिएका थिए। उनको विदाइ खेलमा ८५ हजार दर्शक स्टेडियममा पुगेका थिए।

मेस्सीको अन्तिम विदाइ खेललाई सम्मानसहित यादगार बनाउन ‘ड्रोन लाइट शो’ गरिएको थियो। जहाँ मेस्सीको अनुहार र जर्सी नम्बर १० को आकृति बनाइएको थियो। 

३९ वर्षीय मेस्सीले बेनिनविरुद्धको खेलबाट २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करिअरको अन्त्य गरे। विदाइ खेलमा पनि मेस्सीले १ गोल र २ असिस्ट प्रदान गर्दै टोलीलाई ३–० को जित दिलाए। 

८ पटकको ‘बालोन डि ओर’ विजेता कीर्तिमानी खेलाडी मेस्सीले अर्जेन्टिनालाई २०२२ को फिफा विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका उपाधि दिलाएका छन्।

आफ्नो करिअरको लामो समय स्पेनको बार्सिलोनामा बिताएका मेस्सीले त्यहाँ अनगिन्ती उपाधि जित्दै रेकर्डहरु आफ्नो नाममा गरे। बार्सिलोनापछि पेरिस सेन्ट जर्मेन पुगेका मेस्सी अहिले अमेरिकी क्लब इन्टर मायामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

अर्जेन्टिनी महान् फुटबलर मेस्सीले गत भदौ १५ गते सन्न्यास घोषणा गरेका थिए। विश्वकपको फाइनलपछि उनले भावुक पत्र सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय फुटबल यात्रा औपचारिक रुपमा अन्त्य भएको बताएका थिए।

मेस्सीको सन्न्यास घोषणापछि मेस्सीलाई समेट्दै अर्जेन्टिनी टोलीको घोषणा भएको थियो। अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले विश्वका सर्वश्रेष्ठ खेलाडी, राष्ट्रिय टोलीका प्रतीक र कप्तान लियोनल आन्द्रेस मेस्सीलाई विदाइ गर्न टोलीमा समावेश गरेको बताएका थिए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार