काठमाडौँ । फ्रान्सका माध्यमिक तहका विद्यार्थीले थालेको प्रदर्शन मंगलबार देशव्यापी बनेको छ।
शिक्षा क्षेत्रमा बजेट बढाउन माग गर्दै पेरिस क्षेत्रको एउटा हाइस्कुलबाट सेप्टेम्बरको मध्यतिर सुरु भएको विद्यार्थी आन्दोलन दुई साताभन्दा बढी समयदेखि जारी छ।
मंगलबारसम्म आइपुग्दा यो देशव्यापी बनेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।मंगलबार देशभर २ लाख ६६ हजार मानिसहरू प्रदर्शनमा सहभागी भएको तथ्यांक छ।
राजधानी पेरिसमा मात्रै ५६ हजार मानिस प्रदर्शनमा सहभागी भएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ।मुख्यतः शान्तिपूर्ण रूपमा अघि बढेको प्रदर्शनको अन्त्यतिर पेरिसको एक चोकमा केही प्रदर्शनकारी र दंगा नियन्त्रण प्रहरीबीच झडप भएको थियो।
प्रहरीले करिब ५०० जनालाई नियन्त्रणमा लिएको मन्त्रालयले जनाएको छ।प्रदर्शनका क्रममा प्रहरीले गरेको धरपकड र अश्रुग्यास तथा अन्य दंगा नियन्त्रणका साधनको प्रयोगलाई लिएर विद्यार्थी, अभिभावक र शिक्षकहरूले असन्तुष्टि जनाएका छन्।
विद्यार्थी समूहहरूले आज पनि प्रदर्शनका लागि आह्वान गरेका छन्।विद्यार्थी आन्दोलन सुरु भएयता प्रहरीले ६ हजार ५०० भन्दा बढीलाई पक्राउ गरेको बताइएको छ।पक्राउ पर्नेमा अधिकांश नाबालिग रहेको एपीले जनाएको छ।
प्रहरीको कारबाहीका क्रममा गम्भीर चोटपटकका घटना पनि भएका छन्।