बुधवार, आश्विन २१ गते २०८३

एनपिएलको तयारी अन्तिम चरणमा,दसैँलगत्तै सुरु हुने

बुधवार , आश्विन २१, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो।

प्रतियोगिताको हरेक संस्करण बृहद् बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको उनले बताए।

तयारीको अन्तिम चरणमा छौँ । प्रतियोगितालाई राम्रोसँग सम्पन्न गर्नुपर्ने अपेक्षा धेरै छ। प्रतियोगिता जति ठूलो हुँदै गयो, त्यति नै हाम्रो जिम्मेवारी पनि बढेको छ, सचिव खड्काले भने, दसैंसम्म सबै काम सकेर तेस्रो संस्करणका लागि पूर्ण रूपमा तयार हुने हाम्रो योजना छ।

गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यस पटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन्।

एनपिएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास गरिएको सचिव खड्काले जानकारी दिए।

मैदान परिसरमा थप दर्शक अटाउन मिल्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको उनको भनाइ छ।यसैगरी, मैदान प्रवेश गर्ने बाटो तथा गेट व्यवस्थापनमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सुधारको पहल भइरहेको सचिव खड्काले बताए।

टिकट लिएर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किंदासम्म सहज वातावरण मिलाउने गरी व्यवस्थापनमा विशेष ध्यान दिइएको क्यानले जनाएको छ।

गत संस्करणमा दर्शकले शौचालय तथा आवतजावतका क्रममा धुलोलगायतका समस्या भोग्नु परेको थियो। यसपटक त्यस्ता समस्या दोहोरिन नदिन क्यानले पहल गरेको सचिव खड्काले बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार