अरूसा, तान्जानिया, २०८३ असोज १९ गते । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभाका क्रममा तान्जानियाको अरूसामा रहेको नेपाली प्रतिनिधिमण्डलले भोटेकोशी र त्रिशूली नदीमा हालै आएको बाढीलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न विपद्लाई एजेन्डा आईपीयू सचिवालयमा दर्ता तथा प्रस्तुत गरेको छ।
एजेन्डामार्फत जलवायुजन्य विपद्का कारण संवेदनशील क्षेत्रमा परेको असर न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशीलता अभिवृद्धि र अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषय उठाइएको छ।
प्रस्तावलाई पारित गराउन नेपालले भोलि विभिन्न सदस्य राष्ट्रका प्रतिनिधिमण्डल तथा सरोकारवाला पक्षसँग छलफल गरी समर्थनका लागि मत माग्ने कार्यक्रम तय गरेको छ।
यसैबीच, तान्जानियाको अरूसामा सभामुख डोल प्रसाद (डीपी) अर्यालको नेतृत्वमा रहेको नेपाली संसदीय प्रतिनिधिमण्डल र अष्ट्रेलियाका सभामुख मिल्टन डिकको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटमा नेपाल–अष्ट्रेलिया संसदीय सम्बन्ध, आपसी अनुभव आदानप्रदान तथा आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।