एजेन्सी । साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ ।
मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ ।
साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको खबर भने छैन ।
रोयटर्सका अनुसार कम्पनीसँग सम्बन्धित एक स्रोतले मिसाइल आक्रमणबाट कार्यालय भवनका माथिल्ला तीन तलामा क्षति पुगेको बताएको छ । स्रोतसहित घटनाबारे जानकारी भएका अन्य दुई व्यक्तिले पनि भवनमा आगलागी भएको पुष्टि गरेका छन् । यद्यपि, उपलब्ध विवरणमा आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र पुष्टि भएको छैन ।