रुपन्देहीको मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको ९१ लाख ८६ हजार ५ सय ४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०७४ असार १४ मा पालिका अध्यक्षमा निर्वाचित भएका बनियाँ ९ वेशाख २०७९ सम्म पदमा थिए । अख्तियारले २०७४ असार २१ देखि २०७८ फागुन ३० सम्मको अवधिको सम्पत्ति जाँचबुझ गर्दा पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको घर गाउँपालिकालाई भाडामा दिए वापत प्राप्त रकम, राइस मिलको आय गरेर ८४ लाख १९ हजार ४५१ रुपैयाँ ०६ पैसा आम्दानी गरेको पाइएको छ ।
सोही अवधिमा उनको खर्च र लगानी भने १ करोड ७५ लाख ९६ हजार ९९४ रुपैयाँ ३६ पैसा पाइएको अख्तियारले जनाएको छ । बानियाँको वैधानिक आयभन्दा बढी देखिएको ९१ लाख ८६ हजार ५ सय ४३ रुपैयाँ ३० पैसा बराबर रकमको स्रोत नखुलेको अख्तियारले बताएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २० को उपदफा २ बमोजिम सजायका साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग दाबी गरेको छ ।
साथै बनियाका छोरा पंकज कान्दुको नाममा खरिद गरिएको जग्गा साथै घर, सवारी साधनका साथै बैंकहरुमा समेत रकम मौज्दातमध्ये स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरेको छ ।