काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेताहरुले पार्टी समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता नदिन आग्रह गरेका छन् ।
उनिहरुले विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले कांग्रेसलाई बलियो नबनाउने भन्दै उनीहरुले यसलाई तुरुन्त रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गरी जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्ममाथि प्रहार भइरहेको बताएका छन् ।
कांग्रेसभित्र पार्टी एकतामार्फत आएका विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका सुनीलबहादुर थापालाई दिएको क्रियाशील सदस्यता संख्यामा उनीहरुले प्रश्न उठाएका हुन् ।
क्रियाशील सदस्यता विवादले महाधिवेशन पनि तोकिएको समयमा हुनेमा संशय देखिएको नेताहरुले बताएका छन् । त्यसैले क्रियाशील सदस्यताको विवाद नलम्ब्याउन उनीहरुले माग गरेका छन् ।