काठमाडौं। मिटर ब्याज पीडितलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ । विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडित वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न खोजेपनि महानगरपालिकाको नगर प्रहरीले गेटमा उनीहरुलाई रोकेको हो ।
त्यसपछि मिटरब्याज पीडितले मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । खुला मञ्चमा बिरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको तर सुनुवाई नभएको मिटरब्याज पीडितहरुले बताएका छन् ।
खुलामञ्च प्रवेश गर्न नदिएपछि उनीहरु वीर अस्पताल अगाडिको सडकमै बसेका छन् । मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले घरखेत लुटिएर न्याय माग्न आउँदा पनि खुल्लामञ्चमा बस्न नदिएको गुनासो गरे।
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने खुलामञ्चमा बस्ने विषयमा आफूहरुसँग सल्लाह नभएको र अनुमति नमागिएको बताए। मिटरब्याजी पीडितहरूले भने खुला मञ्च पस्न नदिए आगो बाल्ने चेतावनी दिएका छन् ।
पीडितहरुले आफ्नो माग पूरा नभएसम्म काठमाडौंबाट नफर्कने अडान लिएका छन् । पीडितलाई न्याय दे, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गरजस्ता नारा लेखिएको प्लेकार्ड बोकेका पीडितले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर माग राख्ने इच्छा राखेका छन् ।
मिटरब्याजी पिडितहरूले ८ गुनासम्म बढाएर मिटरब्याजीले रकम लिएको, घरबारविहीन बनाएको गुनासो गरेका छन् ।