काठमाडौं। मिटरब्याज पीडितको समस्याले संसदमा प्रवेश पाएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य तथा विशेष समयमा बोल्ने सांसदहरुले सो बिषय अठाएका हुन् ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, न्याय माग्न पटक पटक काठमाडौं आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले नै छलकपट गरेको बताएका हुन्।
सिरहा र महोत्तरीका मिटरब्याज पीडितहरु ११ दिन पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका छन् । रौतहटबाट अर्को समूह पनि काठमाडौं आउने तयारीमा रहेको आफूले जानकारी पाएको सांसद पौडेलले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै साहुकारको संरक्षण गरेको बताए। विशेष समयमा बोल्दै उहाँले राज्य पीडितको पक्षमा हुनुपर्नेमा पीडकको पक्षमा देखिएको बताए।
मिटरब्याज पीडित ६ महिनाको बच्चा बोकेर सिरहादेखि १३ दिन हिँडेर काठमाडौं आएको भन्दै सांसद झाले यस्ता समस्यामा स्थानीय प्रशासनले समन्वय नगर्ने, जनप्रतिनिधिले पीडितको कुरा सुन्न नकार्ने प्रवृत्ति देखिएको बताए।