काठमाडौं । काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिइने भएको छ । लक्षित वर्गलाई लगाउँदा खोप बाँकी रहेपछि काठमाडौंमा १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइने भएको हो ।
यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो ।
तर दुई दिनसम्म लगाउँदा खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिकालाई दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।
प्रजिअ पराजुलीका अनुसार दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप अझै बाँकी रहेको छ ।
अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत गत असार २८ गते एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप नेपाललाई उपलव्ध गराएको थियो ।