बुधवार, आश्विन १४ गते २०८३

ताइवानकी राष्ट्रपतिले अमेरिकी समकक्षी भेटेपछि चीन क्रुद्ध, ताइवान वरपर थाल्यो युद्ध अभ्यास

बिहिवार , चैत्र २३, २०७९

काठमाडौं। ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चीनले ताइवान वरपर युद्ध अभ्यास गर्न थालेको छ । चिनियाँ चेतावनी बाबजुद साईले अमेरिकी सभामुख भेटेकी हुन्। भेटअघि नै चीनले साईले अमेरिकी सभामुख भेटेको खण्डमा ताइवानले नराम्रो नतिजा भोग्ने धम्की दिएको थियो ।

बुधबार क्यालिफोर्नियामा साई र अमेरिकी सभामुख म्याकार्थीबीच भेटवार्ता भएको बीबीसीले जनाएको छ । सो क्रममा साईले ताइवान र अमेरिकाबीच ‘बलियो र अद्वितीय साझेदारी’ भएको बताएकी थिईन् । म्याकार्थीले भने अमेरिकाले ताइवानलाई हतियार बेच्न जारी राख्ने प्रतिक्रिया दिएका थिए।

यससँगै रुष्ट चीनले ताइवान वरपर युद्धपोतहरू युद्ध अभ्यासका लागि पठाएको छ । गत वर्ष अमेरिका पूर्वसभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा पनि चीनले ताइवान ६ स्थानमा घेरेर युद्ध अभ्यास गरेको थियो ।

चीनले ताइवानलाई आफूबाट अलग भएको टापु ठान्छ । यद्यपि, ताइवानले आफू एक सार्वभौम राष्ट्र भएको बताउने गरेको छ ।

ताइवानसँग व्यापारिकसँगै राजनीतिक सम्बन्ध राख्दा तेस्रो राष्ट्रले आफूसँग अनुमति लिनुपर्ने चीनको भनाइ छ । तर, ताइवानले चीनको ‘एक देश दुई प्रणाली’ आफ्नो देशमा लागू नहुने निरन्तर रूपमा बताइरहेको छ ।

केही वर्षयता ताइवान र चीनबीच युद्धको अवस्था नै निम्तिएको छ । खासगरी अमेरिकाले ताइवानलाई शक्तिशाली हतियारहरू बेचिरहँदा चीन ताइवानप्रति झनै क्रुद्ध बन्दै गइरहेको अवस्था छ । चीनले ताइवानमा कुनै पनि बेला आक्रमण गर्न सक्ने आकलन गरिएको छ । BBC

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार