काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले बुधबार प्रधानमन्त्री समेत रहेका पार्टी संसदीय दलका नेता शेरबहादुर देउवा समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् । उनले क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका सम्बन्धमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषत ः प्रदेश नं. २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन् ।
निधिको व्यवहारका कारण प्रदेशमा कांग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको उनको तर्क छ ।