सोमवार, श्रावण २५ गते २०८३

खेलकुद वर्ष समीक्षा २०७९ः क्रिकेटमा अविश्वसनीय नतिजा, फुटबल खेलाडी पलायन

बिहिवार , चैत्र ३०, २०७९

काठमाडौं। वर्षभर अघिकांश समय मैदानभित्र हारको शृंखला र म्याच फिक्सिङबाट गुज्रिएको नेपाली क्रिकेटले अविश्वसनीय नतिजा दिएर यो वर्षको सुखद अन्त्य गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ का पछिल्ला १२ मध्ये नेपालले ११ खेलमा जित निकाल्दै अभूतपूर्व लयसहित ओडिआई मान्यता मात्र जोगाएन विश्व कप छनौटको आशालाई थप बलियो बनायो ।

त्यसमा पनि घरेलु मैदानमा भएका आठ वटै खेलमा क्लिन स्विप गरेको नेपाल अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत चर्चामा रह्यो ।  लिग-२ को अन्तिम खेलमा यूएईलाई डकवर्थ-लेविस-स्टर्न (डीएल) मेथडमा नौ रनले पराजित गर्दै नेपालले जिम्बावेमा हुने ग्लोबल छनोटको यात्रा तय गर्दा २० हजारभन्दा बढी घरेलु समर्थकमाझ ऐतिहासिक जितको खुसी साट्यो ।

वर्षको सुरुवातमा खेलाडीबीचको मनमुटाव, खेलाडी र प्रशिक्षकबीचको विवाद र नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक किचलोका कारण नेपाली क्रिकेटले सफलताभन्दा धेरै असफलता व्यहोरेको थियो ।

यही क्रममा नेपालले क्रिकेट प्रशिक्षकका रुपमा श्रीलंकाली मुलका क्यानेडियन नागरिक पुबुदु दसानायके, पूर्व भारतीय अलराउण्डर मनोज प्रभाकर र अहिलेका प्रशिक्षक भारतीय नागरिक मोन्टी देशाई गरी ३ जनालाई भित्र्यायो । 

वर्षको अन्त्यतिर सिनियर टिमले जस्तै नेपालको यू-१९ टिमले पनि विश्वकपका लागि एसियाली छनोट जितेर अभूतपूर्व प्रदर्शन गर्‍यो । सन् २०१६ पछि पहिलोपल्ट उमेरसमूहको विश्वकपमा छनौट भएको नेपाल टोली यूएई, सिंगापुर, हङकङ, मलेसिया र कुवेत सम्मिलित प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो र अर्को वर्ष श्रीलंकामा हुने यू-२० विश्वकपका लागि छनौट भयो। 

यद्यपि क्रिकेटमा सबै खुसीकै समाचार मात्र रहेनन् । यसै वर्ष क्यानले आयोजना गरेको नेपाल टी २० लिग म्याच फिक्सिङ प्रकरणले गर्दा सम्झनभन्दा बिर्सन लायक धेरै रह्यो । नेपाल टी २० लिगमा स्थानीय खेलाडीले आफ्नो प्रतिभा देखाउने राम्रो अवसर त पाए तर, पारिश्रमिक विवाददेखि म्याच फिक्सिङ प्रकरणले प्रतियोगिताले नकारात्मक चर्चा बढी पायो ।

नेपालका कीर्तिमानी खेलाडी मेहबुब आलम र उदीयमान खेलाडी मोहम्मद आदिल आलम स्पट फिक्सिङ प्रकरणमा गिरफ्तार भए । उनीहरु ३ लाख धरौटी बुझाएर छुटेका छन् । 

सन्दीप लामिछानेमाथिको बलात्कार अभियोग
यही वर्ष राष्ट्रिय टिमका पूर्व कप्तान तथा प्रमुख खेलाडी सन्दीप लामिछानेमाथि लागेको  नाबालिग बलात्कारको अभियोग पनि चर्चामा रह्यो ।

नाबालिग बलात्कार आरोप लागेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई हटाउँदै रोहित पौडेललाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गर्‍यो ।

अभियोग लागेपछि केही समय बिदेश बसेका उनी गत असोज २० मा नेपाल फर्किएका थिए । लामो समय थुनामा बसेका उनलाई उच्च अदालत पाटनले गत पुस २८ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी राष्ट्रिय टोलीमा फर्किएका छन् ।  

वेथिति र विवादमा रुमलियो फुटबल
अर्को लोकप्रिय खेल नेपाली फुटबल भने पूणर्तः विवाद र बेथितिमै अल्झिरह्यो । यस वर्षको सुरुवातमै अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व परिवर्तन भयो र पंकजविक्रम नेम्वाङ निर्वाचित भएसँगै नेपाली फुटबलमा एकपछि अर्को विवादको लहर सुरु भयो ।

अघिल्लो वर्ष नै सुरु भएको महिला राष्ट्रिय लिगको दोस्रो चरणको खेल यस वर्ष सुरु हुन सकेन र एन्फाको नालायकी पन यसमा पनि देखियो । पहिलो चरणमा गरेको प्रदर्शनकै आधारमा विजेता घोषणा गरियो र दोस्रो चरण खेलाइएन । 

वर्षको सुरुमै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजिनामा दिए । साफ च्याम्पियनसीपमा राम्रो नतिजासँगै चर्चामा आएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मानसिक दबाब दिएको आरोप लगाउँदै तत्कालीन राष्ट्रिय टोलीका रोहित चन्द, अन्जन विष्ट, अनन्त तामाङ, विशाल श्रेष्ठ, विशाल राईलगायतका ९ खेलाडीहरुले बन्द प्रशिक्षण बहिष्कार गरेका थिए ।

सीमित अन्तर्राष्ट्रिय मैत्रीपूणर् खेलबाहेक पुरुष टिमको उल्लेखनीय प्रदर्शन रहेन । नेपालले भुटान र लाओस सम्मिलित थ्री नेसन्स कपको उपाधि त जित्यो, तर आफूभन्दा कमजोर टिमविरुद्ध प्राप्त यस सफलताले कसैको मन जित्न सकेन । 

खेलाडी पलायन 
यति मात्र नभइ फुटबल गतिविधि नहुँदा जीवन धान्न कठिन हुँदै गएपछि खेलाडीहरु विदेश पलायन हुने क्रम नै चल्यो । नेपाल सुपर लिगको अक्सन गरेर पनि आयोजना हुन नसक्नु, ए डिभिजन लिग समयमा हुन नसक्नु जस्ता कारणले गर्दा खेलाडीहरु विदेश पलायन भए ।

वर्षको सुरुतिर आशिष लामा सुमन लामा दर्शन गुरुङ र सन्तोष तामाङ अष्ट्रेलिया गएदेखि यसै महिना अस्ट्रेलिया पुगेका सुजल श्रेष्ठ विशाल राई, सुनील बल, सरोज दाहाल रन्जित धिमालसम्म आइपुग्दा पलायन रोकिएन । राष्ट्रिय टिमबाट खेलिसकेका एउटा सिंगै टिम पुग्ने खेलाडीसहित करिब ४० को हाराहारीमा खेलाडी विदेशीए । यो क्रम अझै रोकिएको छैन ।

महिला टिमको प्रदर्शन सन्तोषजनक
नेपाली महिला टिमको प्रदर्शन भने केहि हदसम्म सन्तोषजनक रह्यो । काठमाडौंमै भएको वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल दोस्रो भयो, फाइनलमा बंगलादेशको हातबाट पराजित भयो ।

महिला टोलीले यस वर्ष साफबाहेक भारतसँग दुई मैत्रीपूणर् खेल र पेरिस ओलम्पिकको एसियन छनोटमा भियतनामसँग दुई खेल खेल्यो । भारतलाई दुवै खेलमा बराबरीमा रोकेको नेपालले ओलम्पिकको पहिलो चरण छनोटमा भियतनामसँग घरेलु मैदानमा दुवै खेलमा पराजित भयो ।

नवौँ राष्ट्रिय खेलकुद सम्पन्न
यस वर्ष निकै व्यस्त रहेको घरेलु खेलकुदमा पटक-पटक स्थगित भएको नवौँ राष्ट्रिय खेलकुद कात्तिकमा सम्पन्न भयो । तर, व्यवस्थापकीय कमजोरीका कारण आलोचनामा परिरह्यो । पौडी, एथ्लेटिक्स लगायतका खेलका कीर्तिमाननै विवादमा परे ।

फुटबलमा गैरआवासीय नेपाली (एनआरएनए) र प्रदेश १ को विवाद चुलिँदा एनआरएनए बाहिरिनु पर्‍यो । कबड्डीमा रेफ्रीहरुबिच नै झगडा पर्‍यो । त्यसको बावजुत नयाँ सम्भावना बोकेका खेलाडीहरु सम्भावना लिएर आए । विवाद जति भए कीर्तिमानहरु पनि त्यतिकै बने ।

राष्ट्रिय खेलकुदको उपाधिमा आर्मीको एकलौटी वर्चस्व रह्यो । आर्मीले कुल १७२ स्वणर्सहित ३७१ वटा पदक जित्दा दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६५ स्वणर्सहित २१९ पदक जित्यो ।

केही खेलमा ऐतिहासिक सफलता 
एथलेटिक्स र बक्सिङमा दुई ऐतिहासिक सफलता पनि प्राप्त भयो । नेपालले काठमाडौमा भएको एसियाली क्रस कन्ट्रीमा दुई स्वणर्सहित चार रजत र दुई कांस्य जित्यो । टिम स्पर्धासँगै नेपालका दीपक अधिकारले ऐतिहासिक स्वणर् जिते ।

नेपालले एसियाली स्तरको प्रतियोगितामा स्वणर् जितेको यो नै पहिलो अवसर बन्यो । बक्सिङमा नेपालकी सुष्मा तामाङले थाइल्यान्डमा भएको एएसबीसी यू-२२ मा रजत पदक जितिन् ।

यत्तिकै ठूलो उपलब्धि पारा तेक्वान्दोमा पनि प्राप्त भयो । साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालकी सिर्जना घिसिङले ऐतिहासिक स्वणर् जितिन् । उनले ५२ केजीमुनि के-४४ क्याटगोरीमा विश्व नम्बर १ खेलाडी टर्कीकी मेर्येम बेटुललाई १२-० ले पराजित गरेकी थिइन् ।

विश्व पारा तेक्वान्दो ग्रान्ड पिक्समा नेपालले जितेको यो नै पहिलो स्वणर् पदक हो । समग्रमा फुटबल बाहेकका अन्य खेलले केही हदसम्म सफलता प्राप्त गरे पनि नेपाली क्रिकेट टिमले २०७९ मा देखाएको प्रर्दशनले नेपाली क्रिकेट जगतलाई क्रिकेटमय बनायो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार