सोमवार, कार्तिक ३ गते २०८३

देशभरका ९२ स्थानमा डढेलो, बढ्यो वायु प्रदूषण

शुक्रवार , बैशाख १, २०८०

काठमाडौं। देशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि भएको छ । वन विभागको तथ्यांकअनुसार अहिले ९२ स्थानमा डढेलो लागिरहेको छ । तराईका विभिन्न भागका जंगलहरुमा डढेलो फैलिएको छ ।

चितवन, पर्सा प्युठान लगायतका क्षेत्रमा अन्यत्रभन्दा बढी डढेलो फैलिएको छ । तराई, पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो सक्रिय छ ।

वन विभागको अनलाइन फायर अलर्ट गर्ने मोडिस प्रणाली अनुसार प्युठानका १५ , चितवनका १४ र पर्साका १० मा डढेलो लागिरहेको छ । पाल्पाका ७, दाङका ६ र गोर्खाका ५ स्थानमा डढेलो सक्रिय छ ।

डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ-दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन ।

वैज्ञानिक विधि र प्रविधिको प्रयोगमा कुनै पक्षले जोड नदिएको र डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पनि कसैले पहल नगरेकाले समस्या कायमै छ ।

संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, स्थानीय प्रहरी प्रशासन, सेना, वन समूहहरू बजेटको अभाव भएको भन्दै डढेलो नियन्त्रणमा उदासीन देखिएका छन् । एक दशकअघि नै बनाइएको वन डढेलो नियन्त्रण रणनीति अहिलेसम्म अलपत्र छ ।

२०६७ मा बनेको रणनीति कार्यान्वयनका लागि अहिले पनि कार्ययोजना नै बनेको छैन । वातावरण विभागका अनुसार डढेलो र प्रदूषणका स्थानिय स्रोतका कारण काठमाडौं उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको पाइएको छ ।

वन डढेलो नियन्त्रणको लागि सरोकारवाला निकायहरुसँग हातेमालो गर्न आमसमुदायलाई विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार