अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले पावर सेक्युरिटी प्रेस खरिदमा ७० करोड भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको छ । मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले जानकारी दिए।
अख्तियारले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइड फ्युल स्टोरेज ट्यांक खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी भएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा भ्रष्टचारजन्य कसूरमा संलग्न पाइएकाले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । सिइओ पौडेल विरुद्ध ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो दाबी माग गरिएको छ ।
आयोगले मेकानिकलतर्फका तत्कालिन सीडीई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार रुपैयाँको बिगो माग गरेको छ ।
पोखरेल हाल बन तथा वातावरण मन्त्रालयमा कार्यरत रहनुभएको छ । त्यस्तै हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत तत्कालिन सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख रुपैयाँ बिगो माग सहित अभियोगपत्र दर्ता गरिएको छ ।
त्यस्तै शाखा अधिकृत मनिकमान महर्जन, तत्कालिन लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय , इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रवन्ध निर्देशक रोहितमान प्रधान मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसियट्सका प्रवन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध पनि मुद्धा दायर भएको अख्तियारले जनाएको छ ।