काठमाडौं। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरूले चर्को नाराबाजी गर्दै मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन् । आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्रीले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ ।
समितिले आज एक विज्ञप्ती जारी गर्दै आफूहरूको शान्तिपूणर् प्रदर्शनमा प्रहरीले अमानवीय ढंगले दमन गरेको भन्दै आपत्ति जनाएको छ । सोमबार शान्तिवाटिका हुँदै सिंहदरबार अगाडि भद्रकालीसम्म शान्तिपूणर् जुलुस जाने तयारी भइरहँदा प्रहरीले दमन गरेको समितिका अध्यक्ष अवधेश कुशवाहाले जानकारी दिए।
प्रहरीले सोमबार बिहानैदेखि शान्तिवाटिकालाई पूणर् रूपमा नियन्त्रणमा लिई पीडितको आवतजावतमै निषेध गरेको पनि कुशवाहाले बताए।
प्रहरी स्वयंले योजनावद्ध रुपमा मिटरब्याजविरुद्धको आन्दोलनलाई भड्काउने, उत्तेजित बनाउने र दमन गर्ने नीति अख्तियार गरेको हिजोको आन्दोलनले प्रष्ट पारेको संघर्ष समितिले जनाएको छ । प्रहरीको कुटपिटबाट २ जनाको हात भाँचिएको विज्ञप्तीमा उल्लेख छ ।
साथै केही पीडितको टाउकोमा गम्भीर चोट लागेको पनि उनले बताए। ४३ जनाले राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सीमा उपचार लिएको र ३ दर्जनजति पीडितलाई पक्राउ गरिएको उनले बताए। संघर्ष समितिले हिजोको दमनले सरकारको पाखण्ड र पक्षधरताको मुखुण्डो उतारिएको आरोप लगाएको छ ।
यस्तै, समितिका अध्यक्ष कुशवाहाले आफूहरूको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिए।