काठमाडौं। बाँकेको नेपालगञ्जको न्युरोडबाट करिब पाँच किलो सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत सुनका गहनासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । सुनका विभिन्न गहनासहित पक्राउ पर्नेमा विराटनगरका महानगरपालिका वडा नं. ९ का ४२ बर्षीय रमेश सोनी र सोही ठाउँका ३६ बर्षीय प्रकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए।
पक्राउ परेका व्यक्तिका साथबाट सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना बरामद गरेको एसपी राठोरले पत्रकार सम्मेलन गरि जानकारी दिए। बरामद गरिएको सुनको जम्मा मुल्य ४ करोड ६९ लाख ५ हजार ७ सय ६३ रहेको प्रहरीले बताएको छ ।