काठमाडौं। आर्थीक मन्दीका समयमा गृह मन्त्रालयले अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने कार्यविधि तयार पारेको छ । गत चैत ६ गतेको मन्त्रिपरिषद् बैठककाे निर्णयबमाेजिम गृह मन्त्रालयले अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने गरी ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ तयार गरी जारी गरेको हो ।
कार्यविधि बनेसँगै सशस्त्र द्वन्द्वमा लडी समायोजन हुने क्रममा अयोग्य ठहरिएका माओवादीका अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख दिने बाटो खुलेको छ । युनाइटेड मिसन इन नेपाल (अनमिन)को प्रमाणीकरणमा अयोग्य ठहर भएका माओवादीका लडाकुलाई यसअघि आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमै प्रतिलडाकु २ लाख रुपैयाँ दिने घोषणा गरिएको थियो ।
सो घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि २ लाख वितरणको प्रक्रिया रोकिएको थियो। पछि सर्वोच्चले नै २ लाख दिने बाटो खोलिदिएको थियो ।
अयोग्य लडाकुको पहिचान गर्ने, अनमिनको प्रतिवेदनमा उल्लेख भएका अयोग्य लडाकुहरुको विवरण, बहिर्गमित जनमुक्ति सेनालाई संयुक्त रुपमा जिल्लाअनुसार सोही अनुसार छुट्याई जिल्ला प्रशासन कार्यालयमा रकम पठाउने उल्लेख गरिएको छ । गृहले सम्बन्धित सीडीओ कार्यालयमा रकम पठाई वितरण गर्नुपर्ने बताइएको छ ।
गत चैत २ मा अर्थ मन्त्रालयसँग भएको सहमतिअनुसार राहतका लागि भनेर १ खर्ब ४० लाखसमेत विनियोजन भइसकेको कार्यविधिमा उल्लेख गरिएको छ । अयोग्य लडाकु पहिचान भएका तर मृत्यु भएकाहरुको परिवारलाई समेत २ लाख रकम उपलब्ध गराईने छ ।
यसैबीच.. सो निणर्यको सत्तारुढ दलसंगै प्रतिपक्षीले पनि आपत्ति जनाएको छ । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अयोग्य पूर्वलडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य नहुने बताए।
उनले यस्ता कमको विरोध गर्न आह्वान समेत गरेका छन्। विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब-किताब बुझाउन नसकेको भन्दै उक्त रकमको सही सदुपयोग हुनेमा समेत आशंका गरे।
‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्वशिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन,’ कोइरालाले भनेका छन्,’ माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं । उनीहरुलाई पैसा होइन, रोजगारी दिऔं ।’
यता सरकारको सो निणर्यको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले त्रिचन्द्र र आरआर क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले माओवादीले यसअघि लडाकुका लागि लिएको रकमको हिसाब सार्वजनिक नगरेको, देशमा आर्थिक संकट बढ्दै जाँदा पनि त्यसलाई बेवास्ता गरेर आफ्ना कार्यकर्ता पोस्न लागेको भन्दै विरोध जनाएका छन् ।