काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले संघीय संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने चर्चा चलेको भन्दै त्यसो नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई संसद्ले बधाई तथा शुभकामना दिने क्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले ध्यानाकर्षण गराएका हुन् ।
हल्ला चलिरहेको र त्यसमा आफूले विश्वास नगरे पनि प्रधानमन्त्रीलाई आफूले ध्यानाकर्षण गराउन चाहेको नेम्वाङले बताए ।
प्रधानमन्त्रीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गर्न लागिएको भन्ने हल्ला चलेको नेम्वाङको भनाइ थियो । विश्वासको मत लिने क्रममा कांग्रेसले ह्वीप लगाएको पनि नेम्वाङले बताए ।