सोमवार, कार्तिक ३ गते २०८३

दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता

बिहिवार , बैशाख २१, २०८०

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो । 

मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । कमला र प्रविण आमा छोरा हुन् । 

“पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन”, उनले भने । भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डिएसपी भट्टले बताए । सो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ । 

हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन् । सशस्त्र प्रहरी बलको टोलीले मङ्गलबारदेखि बेपत्ताको खोजी गर्दैआएको छ । खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार