आइतवार, श्रावण २४ गते २०८३

बसन्त ऋतुका लागि सगरमाथा आरोहण सुरु

शनिवार , बैशाख ३०, २०८०

काठमाडौं। यस वर्षको बसन्त ऋतुमा शनिबारदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि आइसफल डाक्टरले शनिबार दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ अर्थात डोरी टाँग्ने काम गरेपछि आरोहणको बाटो खुलेको हो ।  

सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इम्याजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् ।  योसंगै प्रतिकुल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् ।  

अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि बिहानसम्म थुप्रै आरोही चुचुरोमा पुग्ने आकलन गरिएको कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले जानकारी दिए।

दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत हुन्। रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ छन् । उनले धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने तयारीमा रहेको बताए।

यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौं संख्यामा आरोही यतिबेला प्रतिक्षारत छन् । यस वर्ष सगरमाथा आरोहणको लागि नेपालसहित ६५ देशका ४ सय ६७ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार