काठमाडौं । नेपाली कांग्रेसले साउन १२ गते हुने वडा लगायत सबै तहका अधिवेशन स्थगन गरेको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले तल्लो तहका सबै अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।
साउन १२ बाट गरिने भनिएको वडा तहको अधिवेशन क्रियाशील सदस्यता विवादले स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएपछि अर्को मिति तोकिने छ ।
स्थानीय तहको अधिवेशनको तालिका फेरिने भए पनि यसबाट केन्द्रीय अधिवेशनको कार्यतालिका भने प्रभावित नहुने शर्माले बताए । केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने उनले जानकारी दिए ।
वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने पनि शर्माले बताए । पदाधिकारी बैठकमा महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरुले बताएका छन् ।