काठमाडौं। ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
एभरेष्ट बैंक इटहरी शाखाका म्यानेजर बिश्वराज शाक्यसहित कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए।
बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए।
पक्राउ पर्नेमा बैंकका अप्रेसन इन्चार्ज विराटनगरका निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर धावा लामा, कनिष्ट सहायकहरू भोजपुरका मनोज घिमिरे, इटहरीका देवराज घिमिरे, रन्जित पण्डित र टेलर पवित्रा कटवाल रहेका छन्। त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुरका अजय खिउजुलाई पनि पक्राउ गरिएको डीएसपी राइले बताए।
एभरेष्ट बैंकका कर्मचारीले बैंकको कम्प्युटर आइडी पासवर्ड दुरुपयोग गरी कन्ट्र्याक आइपीएसमार्फत् १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको एक करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम नक्कली चेकमार्फत् झिकेर हिनामिना गरेको पाइएको डीएसपी राईले बताए।
उनले बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निष्क्रिय खातालाई सक्रिय गराई ३५ लाख ४८ हजार एकसय ५० रुपैयाँ झिकेर हिनामिना गरेको बताए।