रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा अन्तर्गत १० दिने विशेष मेला भर्न आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा आराधना गर्न थालेका छन् ।
आज पहिलो दिन झण्डै पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजन आउने क्रम निरन्तर रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए।
दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी हरेक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने गर्छ ।
यस वर्षको गङ्गा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान छ । त्यसै अनुसार सुरक्षा प्रबन्ध मिलाएको र उद्धार गर्नुपर्ने अवस्थामा निःशुल्क फोन नम्बर एक सयमा खबर गर्न जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले अनुराेध गरे।