रौतहटकाे चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित माछापुच्छ्रे बैंकबाट ग्राहकको ९ लाख रुपैयाँ गायब भएको छ।
इलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगेपछि घटनाबारे अनुसन्धान थालेको छ। पीडित यादवले बैंककै कर्मचारीले पैसा गायब भएको आरोप लगाएका छन्।
आइतबार ८ लाख रुपैयाँको चेक साट्न गएका बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट रहस्यमय तरिकाले ९ लाख रकम गायब भएपछि रातिसम्म पीडित पक्षले बैंकमा घेराउ गरेका छन् ।
रहस्यमयरूपमा पैसा गायब भएको भन्दै पीडित पक्षले आइतबार रातिसम्म बैंकको कार्यालय घेराउ गरेका छन्। यादवका अनुसार अघिल्लो दिनसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो।
बिहीबार बिहान उनले १२ लाख २० हजार रकम भएको नेपाल बैंक लिमिटेडको चेक नम्बर ०१२७६४९९७३ को ९ लाख, सोही बैंकको चेक नम्बर ०१२७६४९९७४ बाट दुई लाख २० हजार र ग्लोबल आईएमई बैंकको ००५८०१६७५२ नम्बर चेकको एक लाखको भौचर भरेर माछापुच्छ्रे बैंकमा जम्मा गर्न (क्लिरियन्समा) दिएका थिए।
उनका अनुसार शुक्रबार दिउँसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाइलमा म्यासेजसमेत आएको थियो। आइतबार आठ लाख रुपैयाँको चेक लिएर साट्न पुग्दा उनले खाताबाट ९ लाख पैसा गायब भएको थाहा पाएका थिए।
त्यसपछि उनले बैंकको शाखा प्रमुख रामजी दासलाई भेटर खाताबाट पैसा कसरी गायब भयो भनेर सोधेपछि प्रमुख दासले ‘ह्याकरले पैसा लगेको हुनसक्ने’ जवाफ दिए। यादवका अनुसार दासले यसमा आफूहरूले केही गर्न नसक्ने बताए।