काठमाडौं। राष्ट्रपति कार्यालयले कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने बिषयमा कानूनअनुसार गर्न गृह मन्त्रालयलाई राय दिएको छ ।
गृह मन्त्रालयले चौधरीको सजाय माफी मागको निवेदनमा राय माग गर्दै उनको निवेदन राष्ट्रपति कार्यालय पठाएको थियो । शुक्रबार राष्ट्रपति कार्यालयले रायसहित चौधरीको फाइल गृहलाई फिर्ता पठाएको छ ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति कार्यालयले गृहबाट प्राप्त निवेदनको फाइल अध्ययनपछि रायसहित फिर्ता पठाइएको जानकारी दिए। राष्ट्रपति कार्यालयले सो मुद्दासम्बन्धी सर्वोच्च अदालतको फैसला, अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुनबमोजिम गर्नू भन्ने राय दिएको हो ।
चौधरीको सजाय माफीको निवेदन अगाडि बढेकै बेला सो घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले दिएको निवेदनसमेत राष्ट्रपति कार्यालयले कार्यार्थका लागि गृहलाई पठाएको छ । चौधरीलाई लगाएको मुद्दा फिर्ता गर्ने विषयमा पटक-पटक सहमति गरेका सत्ता गठबन्धन दलले पछिल्लो पटक सर्वोच्च अदालतले समेत जिल्ला र उच्च अदालतको फैसलालाई सदर गरेपछि सजाय माफीको प्रक्रिया अघि बढाउन सहमत देखिएका छन् ।
चौधरी २०७४ फागुन १५ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजायअनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने छ । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।