काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास भएको बताएका छन्।
सोमबार १६औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास भएको बताएका हुन् । उनले गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत भइरहेको समेत दाबी गरे ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत भइरहेका छन्। संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयास कदापि सफल हुने छैनन्। किनकि, लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो।’, उनले भने ।
सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबीच गणतन्त्र दिवस मनाइएको हो । सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका मन्त्रीलगायत उच्चपदस्थ व्यक्ति उपस्थित थिए।