बुधवार, आश्विन २१ गते २०८३

प्रधानमन्त्री ‘भैंसी चढेर आएको’ भनेपछि संसदमा हंगामा, रेकर्डबाट हटाइयो

सोमवार , जेठ २२, २०८०

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसद शिशिर खनालले दिएको अभिव्याक्तिले वादविवाद भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए’ भनेका थिए।

त्यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसद खनालले भैंसी चढेर आएको भन्ने असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट मेटाउन माग गरे।  त्यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिए।  तर उक्त शब्द हटाउन निर्देशन दिएकामा एमाले र रास्वपाका सांसदहरुले विरोध जनाए ।

एमाले सांसद रघुजी पन्तले भैंसी चढेर आएको भन्ने शब्द पहिले प्रधानमन्त्रीले नै प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि उक्त शब्द हटाउनुपर्ने माग गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले प्रयोग गरेपछि आफ्नो पार्टीका सांसदले व्यंग्यस्वरुप उक्त शब्द प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि भैंसी चढेर आएको भन्ने शब्द मेटाउन माग गरे।

लामिछानेले सत्तापक्षले यति सामान्य व्यंग्य पनि सहन नसकेर सत्तापक्षले संसदमा दादागिरी देखाएको टिप्पणी गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार