आइतवार, कार्तिक २ गते २०८३

मुर्रा राँगा नेपाल आइपुग्न कति समय लाग्छ?

शुक्रवार , जेठ २६, २०८०

ललितपुर । भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ वटा मुर्रा जातको राँगाबारे देशभर चर्चा छ। तर भारतबाट राँगा नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ।

नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ। नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान)मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ।

सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन्।

ढकालले भने, ‘स्थानीयस्तरबाट आएको जानकारीअनुसार मुर्रा भैँसीको मूल्य २० देखि २२ लाख रुपैयाँसम्म पर्छ। स्थानीय भैँसीले एक बेतमा एक हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादनमा तीन गुणाले बढाउन सकिन्छ।’

उन्नत नश्लका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी देशभरिका किसानका गोठमा पुर्‍याइ भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गरिनेछ। भैँसीपालन पेसाबाट किसानपछि हट्दै गएको अवस्थामा आउने दिनमा भैँसीको नश्ल सुधारको कारण किसानलाई फाइदा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार