काठमाडौं। प्युठानको स्वर्गद्वारी नगरपालिका-४ भेतुकेमा भएको कार दुर्घटनामा परी मृत्यु भएका सबैकाे सनाखत भएको छ ।
स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँने क्रममा कार दुर्घटनामा हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानले मृत्यु हुनेहरू सबै दाङका रहेको जनाएको छ । प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार मृत्यु हुनेमा गाडी चालक लमही ५ दाङ निवासी तारा बहादुर कुमाल, तुल्सीपुर-१५ निवासी ३५ वर्षीय सरिता शर्मा पोखरेल, उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षीय छोरा विकास पोखरेल रहेका छन् ।
त्यस्तै, लमही-७ गढवा निवासी ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीय राधा नेपाली र उनका ९ वर्षीय छोरा आदित्य शाहको मृत्यु भएको छ ।
यस्तै तुलसीपुरका ११ बर्षिय बालक शिशिर खनालकाे पनि मृत्यु भएकाे छ।
सोमबार दिउँसो उपल्लो भिंगृमा स्वर्गद्वारीबाट फर्किदै गर्दा ओरालो घुम्तीमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना भएको थियो ।