काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ । मंगलबार संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले सो स्पष्टीकरण दिएका हुन्।
उनले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए। आफूले पटक-पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्यसचिव थापाले आँसुसमेत झारेका थिए।
९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो बाँकी रहेको भनिएपनि माईन्यूटमा मात्रै नलेखिएको बताए। सुन जोख्न चुनौती दिँदै उनले १० किलो सुन नपुगे आफू मृत्युदण्ड भोग्न तयार रहेको बताए।
उनले भने, ‘राज्यको पनि कहिलकाहीँ मलाई लाग्छ- कान मात्रै हुँदो रहेछ, आँखा हुँदो रहेनछ कि जस्तो लाग्छ । मैले यो क्षमासाथ भनेँ । मलाई दुःख लाग्छ । जहाँसम्म यो सुनको जलहरीको कुरा हो । म एउटा अध्यात्मा सेक्टरमा लागेको व्यक्ति । भगवान् पशुपतिनाथको कृपाले कोषाध्यक्ष भएर फेरि सदस्यसचिव बन्ने मौका पाएँ । नेपाल राष्ट्र बैंकले दिएको सम्झौताअनुसार हामीले सुन लिएर आएका छौँ- १०३ केजी । त्यतिखेर हामी एउटा राज्यको निकायबाट मनोनीत भएपछि हामी कर्मचारी हो । राज्यका प्रमुखहरूले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो ? त्यतिखेर सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो । सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यू हुनुहुन्थ्यो । उहाँहरूको निर्देशनमा हामीलाई शिवरात्रिभरिमा त्यो सकाउनु भनिएको थियो । हामीले सकायौँ । गल्ती के गर्यौँ ?’
सदस्यसचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरुपयोग गरेर बाँच्नु नपर्ने पनि समेत बताउदै यो मुद्दामा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनी सांसदहरूसँग जिज्ञासासमेत राखे।
आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्यसमेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुःखेसो पोख्दै उनले राज्यको नीति यही हो भन्दै प्रश्न गरे।
सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभावी आरोप लगाउन नमिल्ने उनको तर्क थियो ।
उनले थपे, ‘म आयोगमा बयान दिन जाँदाखेरि पनि सबैजनाले बयानमा जोख्नुस्, जोख्नुस् भन्दाखेरि सबैको एकमत छ जोख्नुपर्छ भनेर । यति त्रुटिपूणर् भएको हो कि हामीले त्यो सुनको जलहरी हाल्दै गर्दा हाम्रो प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सुनको जलहरी हाल्नुहुन्न भनेर अदालतबाट अन्तरिम आदेश ल्याउनुभयो । ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ । १० केजी भएको छैन भनेपछि हामीले त्यो माइन्युटमा नलेखेको मात्रै हो । १० केजी सुन शिवले पहिरिएर राख्नुभएको छ । कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल होल्यो कि चाँदी हो । यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु।’