काठमाडौं। यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो ।
आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिंदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक-फरक हुने छ । यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । तर गत वर्ष औसतमै वर्षा भएको थियो ।
दशैंको बेलामा समेत वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो । अघिल्ला तीन वर्ष लानिनाको प्रभाव थियो । तर यस वर्ष अलनिनोको प्रभाव हुने सम्भावना रहेकाले वर्षा कम हुने प्रक्षेपण गरिएको मौसमविदको भनाइ छ । समुद्रको तापक्रम औसतभन्दा बढी हुनुलाई अलनिनो भनिन्छ । यसैको असर वायुमण्डलमा पर्दा वर्षा कम गराउँछ ।
विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले पूर्व र मध्य नेपालका केही क्षेत्रबाहेक अन्य स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको बताईन्। उनका अनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।