काठमाडौं। अनलाइन बेटिङ वान एक्स बेट प्लेटफर्मको गैरकानूनी रुपमा विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकारहरु नै पक्राउ परेका छन् ।
कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए।
एसपी रेग्मीका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् । प्रहरीले हिजो पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो ।
पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो ।
पक्राउ परेकाहरुले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप प्रहरीको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएको छ ।