काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमाले-कांग्रेस गठबन्धनको चर्चाबारे आक्रामक बनेका छन्। कम्युनिष्ट प्रधानमन्त्री प्रचण्डलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई कुर्सीको अफर गर्न लागेको भन्दै एमाले अध्यक्ष ओलीप्रति आक्रामक बनेका हुन्।
पार्टीको सम्पर्क विभागले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी र कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध बनाउनुपर्नेमा ओलीले प्रचण्डलाई ढालेर कांग्रेसलाई सत्ताको नेतृत्व दिन चलखेल गरिरहेको आरोप लगाए।
अध्यक्ष नेपालले समाजवादी शक्तिलाई एकताबद्ध बनाउने पहल आफूहरुले गर्दा केपी ओली बर्बराइरहेको आरोप लगाए।
नेपालले भने, ‘ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन । उसले अहिले पनि के चाहेको छ भने केपी ओलीले कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, हामी साथ दिन तयार छौं भनिरहेका छन् । कस्तो बिडम्बना, त्यो कम्युनिष्ट पार्टीको चरित्र कस्तो होला ? जुन कम्युनिष्ट पार्टीका नेताले कम्युनिष्ट प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल प्रचण्डको सरकार ढालेर दलाल पूँजीवादी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चलखेल गरिरहेका छन् ।’
नेपालले नेकपा एसले नै अबको नेतृत्व गर्ने भन्दै प्रतिगमनको दिशामा गएको राजनीतिको कोर्स आफूले नै बदलेको दाबी गरेका छन्।
यस्तै पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरु विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक संकट बढ्दै गएको टिप्पणी गरेका छन्।
कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले बितेका तीन चार वर्षको बीचमा गाउँगाउँमा डरलाग्दो ढंगले धर्म परिवर्तन र चर्चका भवनहरु बनिरहेको बताए।
उनले भने, ‘हाम्रोसामु सांस्कृतिक संकट डरलाग्दो ढंगले बढेको छ । गाउँगाउँमा, वार्डवार्डमा चर्चहरु ठडिएका छन् । यो तीन चार वर्षको बीचमा यत्रा चर्चका बिल्डिङहरु कसरी बने ? साढे ८ हजार चर्च कसरी बने ? अझ अमेरिकाबाट विदेशीमन्त्री कुर्लिन्छ, नेपालमा हिन्दूको लागि कोष छ, बुद्धिष्टको लागि कोष छ तर, क्रिश्चियनलाई किन खोइ भनेर ।’
अमेरिकी विदेश मन्त्रालयको पछिल्लो रिपोर्टले नेपाललाई धार्मिक युद्धमा फसाउन खोजेको खनालले आरोप लगाए।